Saturday, February 24, 2024

प्रदिप गिरीको सोचबाट पूर्वीय

 २०८०/०९/२४

प्रदिप गिरीको सोचबाट पूर्वीय दर्शनको आधारमा
कति सुन्दर लोकौति छ:
मूर्खहरू त्यहाँ जान आतुर हुन्छन्, जहाँ बुद्धिमान्हरू टेक्न पनि डराउँछन्।’
कलियुगका मानिसहरु प्राय मोजमस्तीमा जीवन जिउन खोजेका हुन्छन्। उनीहरु मांस र मादक पदार्थमा रम्ने गर्छन् । यति मात्र हो सुरा र सुन्दरीलाई जीवनको लक्ष ठान्छन्। समाजमा नाम कमाएका उच्चपदस्थ कर्मचारीहरु देखि राजनितिज्ञ सम्म विद्यार्थी देखि शिक्षकसम्म दारु पिएर जिउरो लट्ठ्याउँदा आफुलाई गौरवशाली मान्ने गर्दछन्। जुन गलत विचार र आचरण नै हो। कहिलेकाहीँ त प्रवचन दिने व्यक्ति समेत गोडा बङ्ग्याउँदै जिउरो
लट्ठाउँदै गर्दा समेत सगौरव हिड्ने नविन गलत परम्पराको सुरुवात भएको देखिन्छ। सात्विक भोजनलाई भोजनको रुपमा लिन नसक्ने र आखिरमा जे खाए पनि दुर्गन्धित भएर जाने हो भन्ने सोच बुझ्न नसक्नु वर्तमान मानिसको कमजोरी नै हो तर पनि केही वुध्दीमान व्यक्तिहरु यी र यस्ता ठाउँमा जान डराइरहेका हुन्छन्। त्यसैले धन, बल र शक्तिले मात्र मानवलाई हुँदैन आखिर चाहिने वुध्दी र शुध्दी नै र जीवनको अन्तिम लक्ष्य मोक्ष नै हो भन्ने कुरा बुझ्नु जरुरी छ। मानव समाजमा देखिएका जातीका बारेमा चिरिएको प्रसंग प्रदिप गिरीले महाभारतबाट साभार गरिएको दृष्टान्त यहाँ मानव जगतमा वर्गीय कुराको अपव्याख्या कसरी सहजताका साथ ब्राह्मणलाई दर्शाइएको छ त्यसलाई यहाँ उहाँकै शब्दमा पस्किएको छु।
महाभारत वनपर्व (अध्याय १७८–८१) मा एउटा कथा छ। त्यहाँ एउटा नहुष नामको राजा ऋषिको श्रापले गर्दा अजिंगर सर्प बनेको थियो, जुन सर्पले एक दिन पाण्डवका पाँच भाइमध्येका सबैभन्दा बलवान् भीमसेनलाई बेरेर खान लागेको हुन्छ। युधिष्ठिरले आफ्नो भाइलाई त्यो अवस्थामा देखेपछि सर्पसँग भन्छन् कि तिमीलाई म अन्य भोजन दिन्छु मेरो भाइलाई छोडिदेउ। तर सर्पले मान्दैन। नमाने पछि उनले भन्छन्, ‘भन तिमीलाई मैले के कुराले खुसी बनाउन सक्छु र तिमीले मेरो भाइलाई छोड्न सक्छौ ?’ सर्पले भन्छ, ‘यदि मैले सोधेका प्रश्नको तत्काल उत्तर दिए तिम्रो भाइलाई छाडुँला।’ युधिष्ठिरले यो सर्त स्वीकारे।
सर्पले भन्छ, ‘ब्राह्मण को हो र उसका लागि जान्न योग्य तत्व के हो ?’ त्यसको उत्तरमा युधिष्ठिरले भन्छन्, ‘जसमा सत्य, दान, क्षमा, सुशीलता, क्रूरताको अभाव, तपस्या र दया यी सात गुण देखिन्छन्, त्यही ब्राह्मण हो। अनि ब्राह्मणले जान्न योग्य तत्व परम ब्रह्म हो, जुन दुःख र सुखबाट पर छ र जसलाई जानेर मानिस शोक मुक्त हुन्छ।’ फेरि सर्पले भन्छ, ‘ती सात गुण शूद्रमा पनि हुन्छन्। अनि दुःख र सुखभन्दा पर मैले कुनै वस्तुको सत्ता देख्दिनँ।’ फेरि युधिष्ठिर भन्छन्, ‘यदि शूद्रमा सत्य आदि सात लक्षण छन् भने ऊ शूद्र होइन र यदि कसैलाई ब्राह्मण मानिएको छ, तर उसमा ती सात लक्षणको अभाव छ भने ब्राह्मण होइन। साथै सुख–दुःखरहित त पदार्थ छैन, तर एक यस्तो पद पनि छ जहाँ जसरी बरफमा गर्मी र आगोमा शीतलता हुँदैन, त्यसरी एउटा त्यस्तो वेद्य–पद छ, जुन वास्तवमै सुख–दुःखरहित छ।’
फेरि सर्प भन्छ, ‘आचारले हुने भए त जाति व्यर्थ हुनुपर्ने !’ तब युधिष्ठिर भन्छन्, ‘मानिसमा जातिको परीक्षा गर्न बडो कठिन छ, त्यसैले तत्वदर्शी विद्वान् ले शीललाई प्रधान मान्छन्। जसमा संस्कारका साथै सदाचार पनि उपलब्ध छ, उही ब्राह्मण हो।’ यो सुनेपछि सर्पले भीमसेनलाई छोडिदियो।
युधिष्ठिर–नहुष संवादका अनुसार जन्मँदैमा कोही ब्राह्मण हुँदैन। जो शीलवान, दयालु र विद्या परायण छ, त्यसको जन्म तथाकथित शूद्र कुलमा भए पनि ऊ ब्राह्मण हुन्छ। यसका आधारमा हामीले यो बुझ्नुपर्छ कि ब्राह्मण जातीय आधारमा भनिएको होइन। कोही व्यक्ति असहिष्णु छ भने त्यो ब्राह्मण हुँदैन। तर यस्तो व्याख्या नमान्नेले पनि शास्त्रीय प्रमाण नै पस्केका छन्। त्यसैले यो सन्दर्भमा हामीले यो कुरालाई हृदयंगम गर्नुपर्छ कि नेपाल एउटा ठूलो परिवर्तनको संघारमा छ, यसका बारेमा बहस र विमर्ष हुन असाध्यै जरुरी छ।
नेपालको संविधानमा समानतालाई मौलिक हक भित्र राखिएको छ तर पनि कहीँ कतै समानता देखिदैन। अन्तरजातीय विवाहलाई ठूलो उपलब्धि मानिएको छ तर पनि परासर ऋषि र सत्यवतीको सन्तान वेदव्यासको कथा हाम्रो सामु छ। हिजो विश्वकर्मा पुजिएका थिए तर आज दलित भएका छन्। कहाँ पुगेको छ नेपालीको चेतनाको जग। शवरीको जुठो बयँर रामले खानु अरु रामको खोजीमा भौतारिनु तर शवरीलाई भगवान राम आफै खोज्दै जानु भक्त र भक्तीको गाथाको उच्च मूल्यांकन नै हो।
गलत कुरालाई त्याग्दै सही कुराको अनुसरण गर्नु नै आजका मानिसको कर्तव्य हो। यो केवल विद्वान ब्यक्तिहरुबाट सम्भव छ।
त्यसैले भन्ने गरिन्छ:
मूर्ख साथी हुनुभन्दा विद्वान् वैरी भएको वेश। आजको मानव समाजमा देखिन्छ: सभ्य शिष्ट र ज्ञानले भरीपूर्ण लाग्छ र मानिस भ्रममा जिइरहेको छ। अल्बर्ट आइन्स्टाइनको सोचमा आध्यात्म विनाको विज्ञान अर्थहिन हुन्छ। त्यसैले त मानिसले विज्ञानको आविष्कारको कारण हतियार निर्माण भए तर तीनको दुरुपयोग भैरहेको छ। जसको कारण अनाहकमा धेरैको जीवन लिला समाप्त भएको छ।

No comments: