Saturday, March 22, 2025

मेरो सपना छ तर मेरो लागि हुँदै होइन

 २०८१/१२/०८

- मेरो सपना छ तर मेरो लागि हुँदै होइन तर हाम्रो विद्यालय पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलसँग जोडिएको छ।
म शिक्षक भएको नाताले शिक्षकले झुटो बोल्नु हुँदैन र बालबालिकालाई झुटो सिकाउन हुँदैन भन्ने मान्यता बोकेको साधारण मानिस। आज शिक्षक झुटो बोल्छ र विद्यार्थीलाई झुटो कुरा सिकाउँछ भने सत्य कसले बोलिदिने? र भोलिका दिनमा उनीहरुबाट के आशा गर्ने?
हँ कुरो अलिक अस्पष्ट भयो नि? के भन्न खोजिएको हो?
सुन्नुहोस् है त नेपालको संविधान २०७२ के भन्छ? यही संविधानको भाग ३ को धारा ३१ ले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक तहको शिक्षा निशुल्क तर बालेनको महानगरका विद्यालयमा त निशुल्क शिक्षा छैन भने अरु कसमा होला? शिक्षकले बालबालिकालाई प्रत्येक राष्ट्रको संविधान त्यो राष्ट्रको मूल कानून हो यो सबैले मान्नुपर्छ र त्यसमा उल्लेख भएका हकको उपयोग गर्न पाउनुपर्छ भनेर सिकाउने गर्छन् । तर शिक्षकले पढाएको कुरा, संविधानमा लेखिएको कुरा सबै झुट छ भन्ने कुरा बालबालिकाको मनले भनिरहेको छ। किन?
किनकि :
संविधानमा लेखिएको छ निशुल्क छ तर महिनैपिच्छे त्यही विद्यार्थी पैसा तिरिरहेको छ। अनि शिक्षक र संविधानलाई कसरी विश्वास गर्ने? हो साना बालकदेखि वयस्कसम्म कक्षा १२ सम्मको शिक्षा निशुल्क लिने ठाउँ वा विद्यालय कहाँ छ। काठमाडौं महानगरपालिका वडा नं ७ मा अवस्थित पशुपति मित्र माद्यमिक विद्यालय चाबहिलले भने कक्षा १० सम्म निशुल्क शिक्षा दिइरहेको छ। तर त्यही विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई निशुल्क शिक्षा दिनुपर्छ र सम्भव छ भन्ने सोचका साथ अगाडि बढेकाे थियो। फेरी यो अव सपनामा सिमित हुन पुग्यो। विद्यालयले चाहेर निशुल्क शिक्षा कक्षा ११ र १२ मा दिन सक्दैनन्।
किन?
हिजोको दिनमा कक्षा १० सम्म नै मासिक शुल्क लिने गर्यो, तर विद्यालयको सटरको भाडा विद्यालयले बुझ्न थालेपछि कक्षा ८ सम्म निशुल्क भयो र कक्षा १० सम्म निशुल्क भैसकेको छ। अव त यो पनि सम्भव नहोला जस्तो छ किनकि विद्यालयमा‌ निजि स्रोतमा‌ कार्यरत प्राविधिक तथा कर्मचारीलाई कुन पैसाले काम गराउने र दैनिक खर्च केले टार्ने? अव महानगरपालिकाले पैसा नदिएको अवस्थामा कि कुचिकार हटाउनुपर्यो कि विद्यार्थीसँग पैंसा उठाउनुपर्ने छ। पैसा उठाउनु शैक्षिक अपराध नै हो। संविधानको मौलिक हकभित्रको हक विद्यार्थी उपयोग गर्न पाउँदैनन र विद्यालयको प्रधानाध्यापक लाचार भएर विद्यार्थीसँग पैसा उठाउनु पर्छ भने त्यो प्रधानाध्यापक र शिक्षकले कसरी विद्यार्थीलाई अधिकारको बारेमा कुरा सिकाउने। लाजको कुरा छ। यो सरासर तीन तहका सरकारको बेइमानी हो, अधिकारको कुरा उठाउने राजनैतिक दलको पनि बेइमानी हो। मैले अगिल्लो वर्ष २०८१ को चैत्र ३० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री रा. स्व. पाकाे मन्त्री हुनुहुन्थ्यो, आशा थियो उहाँले यो कुरालाई उजगार गरेको । हो अहिले नेपालका राजनैतिक दल एकले अर्कालाई होच्याउन छोडेर हामी जनताका सेवक हौं , जनताले पाउने अधिकार उनीहरुलाई उपलब्ध नगराई हामी उपभोग गर्न चाहँदैनो भन्ने सोच बदलिएको हेर्ने मेरो सपना सायद समग्र नेपालीको सपना पनि त्यही होला। देखाइदिउँ भन्ने माननीय सबैलाई अनुरोध गर्न चाहन्छु: कक्षा १२ सम्मको शिक्षा पूर्ण निशुल्क बनाइ एक असल नेतृत्वमा नाम राख्नको लागि।
त्यसैले पशुपति मित्र माद्यमिक विद्यालय चाबहिलको‌ नि. प्रधानाध्यापकले गत वर्ष २०८० चैत ३० गते नेपालको संविधान २०७२ लाई कार्यान्वयन गरियोस् भनेर ध्यानाकर्षण पत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयमा दर्ता गरेको थिँए तर त्यसको सुनुवाइ भएको छैन। नेपालका तीन तहका सरकार त्यही संविधानको आधारमा निर्मित छन तर भोलिका भविष्यले पाउने मौलिक हकको उपयोग गर्न पाएका छैनन्। पशुपति मित्र माद्यमिक विद्यालय चाबहिल कक्षा १२ सम्मको शिक्षा निशुल्क दिनुपर्छ भन्ने सोचमा यस विद्यालयको नि. प्रधानाध्यापकको मन मस्तिष्कमा परिसकेको थियो। विद्यालय व्यवस्थापन समितीकाे निर्णय गराइ उक्त कार्य गर्न लालहित भएको थियो तर त्यो सपना काठमाडौं महानगरपालिकाले‌ विद्यालयमा रहेका व्यवसायिक भवन भत्काउन निर्देश गरेपछि त्यो अधुरो रह्यो। यो सपना मेरो लागि थिएन नेपालको गणतान्त्रिक संविधानको बचावट र नेपालका नागरिकले पढ्न पाउने मौलिक हकको उपयोगको लागि थियो।
यस विद्यालयको नि. प्रधानाध्यापकले निमित्त प्रधानाध्यापकको पद समाल्दै गर्दा ६०० को हाराहारिमा विद्यार्थी थिए तर अहिले ११०२ जना विद्यार्थी अध्ययनरत छन्। कक्षा १२ सम्मको साधरण धारको पढाइ संचालन भएको थियो फेरी सोच गरिरहेको थियो कक्षा ११ र १२ मा विज्ञान विषयको कक्षा संचालनमा रहोस। दुईवटा ९ र ८ कोठाका पक्कि भबन निर्माण भइसकेको छन् तर पनि विद्यार्थीको लागि न खेल्ने चौर नै रहेको छ न यथेष्ट कक्षा कोठा र प्रयोगशाला नै बनेका छन। यस विद्यालयमा interactive board, Science lab , computer lab, whiteboard आदि रहेता पनि यथेष्ट भने छैनन्।
यस विद्यालयमा राम्रो सुबिधा सम्पन्न हल, पुस्तक रहेको पुस्तकालय र e - library , विद्यालयको वरिपरी वार्है महिना फुलिरहेका फल, जताहेरे पनि चिटिक्क सफा शौचालय, कक्षा कोठा अनि विद्यालय प्राङ्गण, सरस्वतीको मन्दिर, सुन्दर सफोर व्यवस्थित खाजाघर ,सबै शिक्षक विद्यार्थी, अभिभावकमा विद्यालयलाई हेर्ने सकरात्मक सोच , अनि सबैले सबैको सम्मान गरेको अवस्था, सदैव ज्ञान आर्जन गर्न लागिरहने शिक्षक र विद्यार्थी, एक आपसमा मेलमिलाप रहिरहेको होस भन्ने नै हो। विद्यार्थीको सफलतामा रमाउने र आफ्नो विषयमा असफल हुँदा त्यसमा आफ्नो सुझाव वा सहयोग कम भएको महसुस गर्ने शिक्षक तथा विद्यालय प्रशासन भैदिएमा सबै विद्यार्थी सफलताको सिंढी चढ्न सकुन भन्ने नै हो। यस्तो सोचलाई सफल पारिदिने कार्य विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकलाई सघाइदिएमा कति सुन्दर हुने थियो भन्ने सपना बोकेको छ, यो पनि मानब सभ्यताको लागि नै हो।
मलाई लागेको थियो यस विद्यालयमा १५०० विद्यार्थी पढुन।
यो विद्यालय सबैको लागि साझा अध्ययनको चौतरी बनोस , विना प्रवेश परीक्षा विद्यार्थीलाई विद्यालयमा प्रवेश गराई उनीहरुलाई विज्ञान,संस्कार, प्रविधिको सहितको शिक्षा पशुपति मित्रको प्रतिवद्धता भन्दै सबै विद्यार्थी शैक्षिक प्रमाणपत्रमा सबै कक्षाेन्नति आ आफनो क्षेमाता अनुसार विभिन्न GPA मा प्राप्त गरी उत्तीर्ण हुन सकुन, हातमा सिप होस र बोलिमा विनम्रता र सत्यताको लागि कसैको पछि नलागि आफ्नो स्वतन्त्रता अभिव्यक्ति दिन सक्ने र अधिकारको लागि Socrates ले झै जीवनको प्रवाह नगरिदिने , एकताको लागि नेपालको सन्दर्भमा पृथ्वी नारायण शाहले झै कुटनैतिक आचरण अपनाउन सक्ने, अन्यायको विरुद्धमा हनुमानको झैं हुँकार निकाल्न सक्ने वसुदैव कुटुम्बकम को आवाज विश्वमा फिजाउन सक्ने, समाजमा रहेका विक्रीतिलाई हटाई मानवताको साङ्लो तयार गरि सबैलाई यसैमा गोलबद्ध गर्न सकोस अनि यस विद्यालयबाट विद्यालय तहको शिक्षा पुरा गर्ने सबै आत्मनिर्भर सहित स्वाबलम्बी नागरिक बन्न सकुन कोही रोजगारीमा रमाउने त कोही अरुलाई रोजगार सिर्जना गर्न त कोही विभिन्न तहका सरकारको नेतृत्व गर्न सक्ने जनशक्ति सदैव बनिरहोस। यही थियो मेरो सपना तर त्यो सपना समाज परिवर्तनका लागि थियो सोच परिवर्तनको लागि थियो, मानवताको लागि थियो र वर्तमानमा पनि त्यही सोचले पागलपनमा डोर्याइरहेको छ। हाम्रा बालबालिका मुस्कुराउन थालेपछि मात्र उनीहरु सिक्न सक्छन् भने सोचका साथ सदैव शिक्षक मित्रहरुसँग विद्यार्थी भाइबहिनीहरुलाई दण्ड होइन, मुस्कुराउँदै उनिहरुको लागि उत्प्रेरक बनिदिनुहोस जसले तपाईँ असल शिक्षक बन्नुहुनेछ र समाजमा असल नागरिक । यही नो हो मेरो सपना तर मेरो लागि होइन भोलिको सुन्दर मानव समाज निर्माण को लागि हो जुन बेलामा म यस धरतीमा नहुन पनि सक्छु।
त्यसैले प्रत्येक शिक्षकले तपसिलका कुराहरु भन्न छोडिदिए मात्रै‌ पनि शैक्षिक उपलब्धी वृद्धि हुनेथियो:
-विद्यार्थी जान्दैन।
- विद्यार्थी उदण्ड छ।
- विद्यार्थीको घरमा शैक्षिक वातावरण छैन ।
- विद्यार्थीका बाबु आमा त त्यस्ता छन् अनि बच्चा कस्ता बन्ने।
- दण्ड तथा जरिवानामा विश्वास नराखिदिए।
बरु तपसिलका कुराहरु ध्यान दिएमा सुधार सम्भव छ:
- तिमी सबै कुरा विस्तारै सिक्न सक्छौ ।
- अहिले बिग्रिएर के भो त अर्कोमा राम्रो गर्न सक्छौ।
- तिमिले नजाने कसले जान्दछ।
- शिक्षक मुस्कुराउँदै उनीहरुका गल्तिहरुलाई क्षमा दिदै उत्प्रेरकको रुपमा काम गरिदिए ।
- उनीहरु गालि होइन मन्द मुस्कानका साथ प्रेमको भावले बोलिदिए।
- यति त गरिसक्यौं भने अरु सुधार तिमी गर्न सक्छौ भनेर हौसला प्रदान गरिदिए।
- उनीहरुलाई आफ्नो बाबुनानी जस्तै ठानिदिए।
पक्कै पनि पशुपति मित्र माध्यमिक विद्यालय पशुपति नाथ झैं सबैको शैक्षिक आराध्य बन्ने थियो भन्ने सोच बोकेको छ। यो सोच सबैको लागि हुनेछ।
तर काठमाडौं महानगरपालिका भवन अडिट गर्दै छ , इन्जिनियरहरु भन्दै हुनुहुन्छ प्रत्येक विद्यालयमा १ विद्यार्थीको लागि करिव ४ वर्गमिटर खुला आँगन रहोस। सोच सुन्दर तर भोलिका दिनमा अहिले ११०२ जना विद्यार्थी अध्ययनरत छन भने भोलि ५००/६०० विद्यार्थी मा झर्नेछ। अनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम, विद्यार्थी संख्या कम भएपछि शिक्षक संख्या पनि कम। कि काठमाडौं महानगरपालिकाले प्रत्येक विद्यालयमा जग्गाको उपलब्धी गराओस कि संरचना बलियो बनाइ सोही अनुसार विद्यार्थीको व्यवस्थापन गरोस। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बाध्यतावस संस्थागत विद्यालयमा जाने बाटो नरोजोस। यो खवरदारी पनि हो। मेरो सपना सामुदायिक विद्यालयमा सर्व सम्पन्न बनुन र जहाँ बालबालिकाले निर्धक्क र आत्मैदेखि सामुदायिक विद्यालय अध्ययनको लागि रोजुन भन्ने नै हो।
यही हो मेरो सपना।

No comments: