Saturday, March 22, 2025

नेपालको सरकार र राजनैतिक नेतृत्वले शक्तिको पहिचान नगरेमा!

 नेपालको सरकार र राजनैतिक नेतृत्वले शक्तिको पहिचान नगरेमा!

शिक्षक प्रत्येक मानव समाजमा अग्रज हुन। त्यसैले प्रत्येक मानव सभ्यतामा गुरुको उच्च सम्मान रहेको हुन्छ र गुरुहरुले यसको मान र मर्यादा राख्नसक्नुपर्छ। नेपालको सरकार र राजनैतिक नेतृत्वले शिक्षकमा रहेको शक्तिको पहिचान नगरेमा असहज अवस्थाको सिर्जना हुन सक्छ।
शिक्षकले बुझ्नु पर्छ: विद्यार्थी बिना विद्यालय रहँदैनन्
। अभिभावक बिना विद्यार्थी रहँदैनन् । त्यसैले शिक्षकका महत्वपूर्ण पात्र भनेका विद्यालयका विद्यार्थीका अभिभावक हुन। शिक्षकले आफ्नो हक, अधिकारका कुरा गर्दै गर्दा प्रत्येक विद्यालयका पहिलो इँटा अभिभावक नै हुन। ती अभिभावकका विश्वासले नै ती विद्यालयमा विद्यार्थी पठाइदिएका छन्। तीनै विद्यार्थीको उपस्थिति र तीनै विद्यार्थीले प्राप्त गरेको नतिजाले विद्यालय धन्य भएका छन।
आज शिक्षकले बुझ्नुपर्छ: नेपालको संविधान २०७२ ले भाग ३ को धारा ३१ मा प्रत्येक नेपाली नागरिकको शिक्षा सम्बन्धीको हकको बारेमा लेखेको छ। उक्त भाग र धारामा आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ भने माध्यमिक तहको शिक्षा निशुल्क पाउनुपर्छ भनी संविधानमा लेखिएकाे हुँदा ती विद्यार्थीले पाउने हकको बारेमा शिक्षकले उठाउँदैन्, शिक्षक नेतृत्वले उठाउँदैन् भने ती आवाजको संम्बोधन कसले गरिदिने।
पहिलो काम शिक्षकले आफ्नो हकको भन्दा पनि कर्तव्यको पालना गर्नुपर्छ। शिक्षकको लागि विध्यार्थी नै सर्वेसर्वा हुन। ती सर्वेसर्वा व्यक्तिहरु प्रति र भोलिका भविष्य र राष्ट्रको नेतृत्व गर्ने जनशक्तिको बारेमा शिक्षकले बुझ्नैपर्छ। तर पनि प्रत्येक शिक्षक कक्षाकोठामा पुग्दा उनीहरु भन्ने गर्छन :
संविधान देशको मुल कानुन हो। यो सबैले मान्नुपर्दछ। यसमा लेखिएका हकको सदुपयोग सबै नागरिकले उपयोग गर्न पाउनुपर्छ भनेर कक्षामा सिकाउँदै गर्दा आज नेपाल भरिकै प्राय सबै विद्यालयहरुले विद्यार्थीसँग शुल्क उठाउँदै विद्यालय चलाइ लज्जाको पात्रको रुपमा नेपालको शिक्षक रहेको छ। त्यसैले अब नेपालका शिक्षकले आफ्नो मागलाई भन्दा विद्यार्थको आवाज बन्न सक्नुपर्छ। जब शिक्षकले विद्यार्थीको बारेमा बोलिदिन्छ तब ती विद्यार्थी र तीनका अभिभावकले शिक्षकको आवाजमा उत्रिन सक्छन्। जव विद्यार्थी र तीनका अभिभावक शिक्षकको शक्ति बन्न पुग्छन् , अनि शिक्षकका आवाज सुनिन पुग्छन। यदि शिक्षक र विद्यार्थी माथि नेपालको राजनैतिक नेतृत्व र नेपालका तीन तहका सरकार अन्याय गर्न पुग्छन् भने शिक्षक, विद्यार्थी र तीनका अभिभावक एकै ठाउँमा उभिएर हनुमानको हुँकार निकाल्न सकेमा न सरकारका आयु रहन्छन, न राष्ट्रको संविधान न राजनैतिक दलको नै। यी तीनै प्रकारका शक्तिलाई जरैदेखि उखेलेर फालिदिन सक्छन्। त्यसैले नेपालका शिक्षक र तीनका नेतृत्वलाई विद्यार्थी बुझ्न, र ती विद्यार्थीका अभिभावक बुझ्नको लागि अपिल गर्दै, शिक्षकका संघ, संगठन र महासंघका नेतृत्वले विद्यार्थी र तीनैका अभिभावकलाई बुझी उनीहरुको पक्षमा बोल्नुपर्छ।जब शिक्षकको बारेमा विद्यार्थी र तीनका अभिभावक बोल्नथाल्छन र विद्यार्थी र तीनका अभिभावकको पक्षमा बोल्न थाल्छन् सबै शक्तिहरु उनीहरुको अगाडि घुँडा टेक्नुपर्छ।
नेपालको शिक्षकको आन्दोलन बालबच्चाले मटेरा खेलाए झै गर्नुहुँदैन। उपयुक्त समयको खोजी होस। विद्यालयमा विद्यार्थी भर्नाको समय र अन्तिम परीक्षाको समयमा कुनै प्रकारको आन्दोलन नगरियोस। हिजोका दिनमा गरिएका आन्दोलन शिक्षक मैत्री भएनन् र केबल नेतृत्व मैत्री भए। शिक्षकको नेतृत्वले सरकारसँग सम्झौता गर्दा अस्थायी सेवा अवधि पेन्सन प्रयोजनको लागि मात्र केन्द्रित रह्यो र यो सबै शिक्षकको सवालमा काम गर्न सकेन। यस्ता विभेदकारी सम्झौता नगर्नको लागि पनि अपिल गर्दछु।
अर्को कुरा शिक्षक सडकमा निस्कन हुँदैन। जब सडकमा शिक्षकहरु निस्कन्छन् उनीहरु बिना प्राप्ति निस्कनु हुँदैन। २०८० को आन्दोलनले नेपालका शिक्षकहरु माथि ठूलो घात गरेका छन्। एक जना सुदुर पश्चिमको शिक्षक र एक जना पूर्वको शिक्षक आफ्नो पेशाको लागि काठमाडौँ आउँदा कति खर्च भयो र कति समय लगाए। आखिर के पाए? त्यसैले आन्दोलनलाई बालकको खेलको रुपमा नलिनको लागि अपिल गर्दछु।
शिक्षकको आन्दोलनले विद्यालय, विद्यार्थी र अभिभावक प्रति प्रतक्ष्य प्रभाव परेको हुन्छ। त्यसैले आन्दोलनको तिथि मिति तय गर्नुभन्दा अगाडि राम्रोसँग सुझबुझका साथ लाग्नु। शिक्षकको आन्दोलन अरुको आन्दोलन जस्तो होइन। यसले पुरा समाजलाई अस्तव्यस्त पारेको हुन्छ। यसप्रति सजग रहनको लागि पनि अपिल गर्दछु।
नेपालको सरकार र राजनैतिक नेतृत्वले शक्तिको पहिचान नगरेमा भिरबाट खस्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिदैन। त्यसैले सबैले बुझ्नुपर्छ र सबैलाई महत्व दिनुपर्छ।

No comments: