Saturday, July 16, 2022

सत मार्ग

 २०७९/०२/२६

सत मार्ग
जीवन जिउनमा जति बाधा, वेवधान आइपर्छ, उति जीवन अर्थ पूर्ण हुन्छ। संकटले समाधानलाई आमन्त्रण गरिरहेको हुन्छ तर समाधान आलटाल गरिरहेको हुन्छ, समय गुजारिरहेका हुन्छ तर पनि एक दिन बाध्य भएर उसैको शरणमा पुग्नुपर्छ। आखिर समय नै सबै थोक हो। यसैले एकै व्यक्तिलाई धेरै नाम दिएको हुन्छ। प्रत्येक मानिसले बुझ्नै पर्दछ बैशाखी केवल साहारा मात्र हो तर मेरुदण्ड होइन। मेरुदण्ड छैन भने वा कमजोर छ भने जीवन मकाउन सक्छ। मकाएको हड्डीको केही भरोसा हुदैँन किनकि कुनै दिन कर्याक्क हुनसक्छ। जव कर्याक्क हुन्छ अनि विस्ताराको वास।
हो त्यसैले हड्डीलाई मकाउन दिन हुदैन। हड्डीलाई बचाइराख्न पनि तन्दुरुस्त रहनसक्नुपर्छ । तन्दुरुस्त रहनपनि भोजनले मात्र काम गर्दैन। प्रत्येकसँग मन हुनुपर्छ। मन पनि सागरको कन्चन पानी जस्तै जहाँ हेर्दा आफ्नो प्रतिबिम्ब देखिन्छ, औजुलीमा लिइ प्यास मेटाउन सकिन्छ, कहीँ कतै लागेको दागलाई साबुन लगाई पखाल्न सकिन्छ तर पनि गर्मीको मौसममा डुबुल्कीदै गर्दा शान्त रहन सकिन्न किनकि मनमा बेचैन भएको छ। आफ्नै छायाँमा डराउन लागेको छ। त्यसैले मनलाई शान्त पार्नैपर्छ। मनलाई शान्त पार्न लोभ त्याग्नै पर्छ।
हो डराउन हुदैहुन्न किनकि जीवनको सिमा निश्चित छ। जिएको छ कर्मको लागि। सत कर्ममा लाग्दै गर्दा तगाराहरु देखापर्छन तर पनि समयले त्यसलाई ठेगान लगाउँछ। अनि डराउनु के को लागि। सुदामाले दरबारमा गलहित्तिदै गर्दा पिडा धेरै भएको थियो तर पनि गलहत्याउन लगाउने राजाले आफ्नो श्रीपेच खोलेर उनलाई लगाइदिँदै गर्दा पक्कै पनि उनको मनमा शान्ति छायौ, उसलाई सम्झदा दया लाग्यो, पिछा गर्न खोजेको लोभलाई टाढैदेखि भगाइ उसको श्रीपेच उसैलाई लगाई सबैको मनमस्तिष्कमा बस्ने भए, उनले डेरा त्यही जमाए। त्यसैले चिन्ता लिनु बेकार छ, कर्तव्यबाट पर भाग्नु धिक्कार छ, सत्य र सत पुजिन्छ नै जुन दिन मनमा लागेको बादल पानी परेको अर्को बिहानीको खुलेको निल आकाश झै हुन्छ नि , अनि वैरभाव केही रहदैन। रहन्छ त निश्कलंकित जीवन। त्यही नै पुँजी हो, त्यही नै मान हो।
सुदामाले राजालाई बुझाउन खोज्दा गलहत्तीन परेको थियो तर पनि त्यही राजा उनको शरणमा पुग्नुपरेको थियो किनकि उनमा सत थियो, धर्म थियो ,थिएन त केवल लोभ, पाप र इर्श्या। त्यसैले उनी महान थिए आज उनी त्यही महानताले नै जिएका छन। बच्चालाई खुवाउने अन्न थिएन लगाउनलाई वस्त्र थिएन त्यसरी नै लोभ पनि सम्मुखमा नै आएन।
जीवन जिउने कला नै हो। तर पनि जीवन आफ्नो जिउनुपर्छ। अरुका आवाज समेट्दै निर्णय आफ्नो लिदै गर्दा पछुताउने दिन आउदै आउदैन यदि सत मार्गमा हिडेको छ भने।

No comments: