Monday, October 10, 2022

नेपाली कांग्रेसको विचार खोइ?

 २०७९/०६/१७

नेपाली कांग्रेसको विचार खोइ?
राजनैतिक दललाई विचारले नेतृत्व गर्नुपर्ने हो? राजनैतिक दलले आफ्नो राष्ट्रिय अधिवेशनमा नेतृत्व चयन गर्नुपर्ने हो। जुन व्यक्तिले आफ्नो योजनाका साथ दलका कार्यकर्ताको मन जित्न सफल हुन्छ उसलाई नेतृत्व दिनुपर्ने हो। जव चुनिएर आएको नेतृत्व कामगर्न थाल्छ, सबै गुट र उपगुटको अन्त्य हुनुपर्ने हो। तर नेपालका राजनैतिक दलहरू व्यक्तिका झुण्डका रुपमा फष्टाएका छन्। हिजो काँग्रेसको अधिवेशनमो समयमा नै देउवाको झुण्ड, कोइरालाको झुण्ड, प्रकाशमानको झुण्ड र निधिको झुण्डको रुपमा अधिवेशन सम्पन्न भयाे। ठिक त्यसरी नै तीनका शुभेच्छुक र भातृसंगठनका नेतृत्वहरु। आज विचार सुन्य छ, लोभले उच्च स्थान लिएको छ। जव मानिसमा मोह र लोभको वास हुन्छ, उ अन्धो हुन्छ। आज त्यही भएको छ नेपालको राजनैतिक धरातलमा।
विचारले जितेको भए पो झुण्डको अन्त्य हुन्थ्यो। पैसा र पौंचको भरमा गरिने अधिवेशन देखाउने नौटंकी मात्र हो। अधिवेशनबाट चुनिएको देउवा किन निरिह देखिन्छन्। कोइराला, रामचन्द्र, प्रकाशमान, निधि वा सिटौलालाई भाग छुट्याउनको साटो सबै कार्यकर्ताबाट छनौट भएर आएका तीनै नेताले चाहेका व्यक्तिहरुलाई धमाधम चुनावमा टिकट दिएभैहाल्छ नि । आँखिर उनीहरुको योगदान ले नै वर्तमान नेतृत्वले सरकारले चलाएको छ। आखिर विचार नै नमिल्ने दलसँग सहकार्य गर्न मिल्ने आफ्नै सहयात्रीसँग पर किन? किनकि त्यहाँ वैरभाव झाँगिएको छ, विवेक गुमेको छ, विश्वास टुटेको छ मन भाँचिएको छ। आज अरुसँग होइन आफैसँग प्रश्न गर्नुपर्छ। हिजो गिरिजालाई देउवाले लगाएका दोषहरू आज किन उनकै टाउकामाथि छन्। सोच्नुपर्दैन त?
उता सागर ढकालले देउवाको घर, विद्यालय, पिउने पानीको अभावमा ५ पटक प्रधानमन्त्री भएको गाउँमा देखिन्छ भने विकास कसरी गर्ने हो। समानुपातिककको स्थानमा संविधानले सोचे अनुरूप का व्यक्ति चयन गर्ने हो कि आफ्नो श्रीमती, छोरा, छोरी, ज्वाइँ वा अन्य मुखपात्रको लागि हो। चुनावमा दलीय गठबन्धन प्रजातन्त्रवादीको लागि घात हो। झट्ट रुपमा हेर्दा संसदमा केही संख्या देखिएला। तर पनि त्यो संख्या पनि अर्थहिन हुँदोरहेछ। गठबन्धन कै आधारमा दुई तिहाई बहुमतको ओली सरकार काम गर्न नसकि बेकम्म हुँदै नेपाली जनता माथि घात गरेको छ। फेरी तीनै लोभिपापीका झुण्ड जुन दलबाट उठे पनि केही गर्न सक्दैनन। किनकि त्यहाँ झुण्डको स्वार्थ लुकेको छ, देश र नेपालीको लागि कुनै योजना बुनेकाे छैन, छ त कसरी लाई कसरी सिद्याउने । आँखिर जसले जिते पनि राजनिति देश र जनताको भलाइका लागि हो। तर त्यो हात्तीको दाँत भएको छ। देश र जनता माथि गद्दारी गरिएको अवस्था छ। आज किन सुनिन्छ केही व्यापारी र नेताले नेपाली पैसा विदेशी बैंकमा राखी देशलाई खोक्रयाएको कुरा। अव गद्दारी गर्ने छुट कसैलाई छैन।
देउवा जी नेपाल, नेपाली, र नेपाली कांग्रेसलाई माया गर्ने नेपाली कांग्रेस भित्रकै अन्य नेताका विश्वास पात्र व्यक्तिलाई चुनावमा टिकट दिनोस्। तर यति प्रतिशत तलाइ र उति प्रतिशत उसलाई नभन्नोस किनकि यसले राजनैतिक दलको प्रतिनिधित्व गर्दैन व्यक्तिको झुण्डको नेतृत्व गर्दछ। दलभित्र झुण्ड तयार गर्नु राजनैतिक अपराध हो। राजनितिमा त विचारको माध्यमबाट देशको विकासलाई जोड्नुपर्ने हो। अव तपाईले त्यागको भावना देखाइ राष्ट्रवादी नेताको पहिचान बनाउनु पर्छ। त्यसको लागि लोभ त्याग्नु पर्छ। लोभले केही समय फाइदा होला तर अन्तमा विनास नै हो। सरकार निर्माणको लागि संसद संख्या नपुग्दा गठबन्धन गर्नुपर्छ तर चुनाव अगावै गरिने दलिय गठबन्धन केही झुण्डको स्वार्थ सिद्धिको खेल मात्र हो। यो खेलमा सधैं मतदाताले तपाईंहरुको आग्रहलाई जसरी काठमाडौं, धरान र धनगढीका मतदाताले अस्वीकार गरे त्यसरी नै अस्वीकार गरेको अवस्थामा भावि नेपाली कांग्रेस लगायत अन्य राजनैतिक दलको अवस्था के होला। म राजनिति शास्त्रको विद्यार्थी समेत भएकोले मेरो बुझाइमा न नेपालमा प्रजातन्त्र छ, न राजनैतिक दल नै अस्तित्वमा छन। राजनैतिक दल भए त आफ्नो चुनावी चिन्ह, आफ्नो घोषणा पत्र, आफ्नो उमेदवार लिएर चुनावमा जान्छ नि। गएको छ त?
समय बलवान छ सडकको मानिस सत्तामा र सत्ताको मानिस सडकमा हुन्छ। अहिलेको राजनैतिक अवस्थालाई बुझेर अव जनताले विश्वास गर्ने काम नगरेकोले नै होला भुपु प्रधानमन्त्री बाबुराम भट्टराईले भनिसके अव - हामीहरू जनताको रोजाइमा छैनौ। त्यसैले उनले प्रत्यक्ष चुनावमा प्रतिस्पर्धी नभइ समानुपातिक रहने घोषणा गरिसके। प्रचण्डकाे ओठ सुकेको देखिएको छ मेडियामा। ओलिको भरोसा छैन रेल र पानी जहाजमा यात्रा भैसकेको सन्देश पस्कदै छन्। माकुने आफै निरास छन्न् अर्को तर्फ खनाल खिन्न मुद्रामा देखिन्छन र मधेशवादी दलहरु विचल्लीमा र विचलित छन्। यही क्षेणमा स्वतन्त्र उम्मेदवार आउदैछन्। आजको गलत निर्णयले व्यक्ति हार्दैमा केही हुदैन, देशले नहारोस।
समय बलवान छ। अंकगणितमा जम्मा २३ जना संसद भएको राजनैतिक दलको नेता तपाईं देशको प्रधानमन्त्री हुनुभएको छ। किन ? किन कि? त्यहाँ दल छ। तपाईं कोसँग दलीय गठबन्धन गर्दै हुनुहुन्छ नि याद छ नि? हामी सभा सम्मेलनमा सुन्ने गर्थ्योे संसदीय व्यवस्था भनेको खशी को टाउको झुण्डाएर कुकुरको मासु बेच्ने स्थलो हो। को कसले कसरी भन्ने गर्थे हेक्का गर्नुहोला।
आज विपि कोइरालाको नाम मात्र भजाएर खान हुँदैन। विपिले राजा महेन्द्रसँग १० वर्षको समयावधि दिएमा नेपाललाई विश्व मानचित्रमा विकशित राष्ट्रहरूको विचमा उभाउने सपना बुनेका थिए। काँग्रेसले त अपवाद बाहेक २०४६ पछि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा नेपाली कांग्रेस नै सरकारमा छ। २०४६ सालको मन्त्री भएको व्यक्ति आज पनि लालहित छ। दलमा त सबैले समान अवसर पाउनुपर्दैन र? एक व्यक्तिको गलत निर्णयले देश पछुताउन हुदैन। नेपाली कांग्रेसका नव नेतृत्वको विचारले पुरानो नेतृत्वलाई विश्वास दिलाएर राजनैतिक योग्यतामा शैक्षिक योग्यता पनि मिसाएर लान सक्नुपर्छ। जेल र नेल मात्र राजनैतिक नेतृत्वको चयन प्रक्रिया गलत हो।
जेलमा को जान्छ?
जसले निश्चित समयमा रहेको ऐन कानूनको विरुद्धमा धावा बोल्छ। यदि विचारले नेतृत्व गरेन भने त त्यस्ता व्यक्तिहरु जेलमा नै सडेर जान्छन्।
त्यसरी नै अहिलेकाे नेतृत्वको विचारको विरुद्धमा जाने व्यक्ति पनि जेल जानसक्छ। हैन र?
त्यसैले सबैले लोभबाट बाहिर निस्किएर नेपाल र नेपालीको भलो चिताउने र अहिलेको संविधान जोगाउने हो भने चुनाव अगाडिको गठबन्धन खारेज गरी स्वच्छ र धाँधलीरहित चुनाव गराउन पर्छ। सरकार गठन गर्ने बेलामा संख्या नपुग्दा मात्र गठबन्धन गर्नुपर्छ। पृथ्वीनारायण शाहको भनाई सम्झनुपर्छ - प्रजा बलिया भया मात्र देश बलियो हुन्छ।
तर आज:
नेता बलिया छन, प्रजा कमजोर र निरीह।
तर पनि गत स्थानीय चुनावमा प्रजा बलिया पनि हुन सक्छन्, होस गर भनिसकेका छन्।
केही मुट्ठीभरका नेताको मात्र होइन समग्रमा नेपाल र नेपालीको जय होस।

No comments: